अन्ततः हुने भयो ‘मिस नेपाल २०२०’

कार्तिक २५,२०७७

-

कात्तिक २५, २०७७ काठमाडौं ।
कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्ततः हुने भएको छ । वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको छ । आयोजक संस्था हिडेन ट्रेजरले नेपाल सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर प्रतियोगिता थालनी गरिएको जानकारी दिएको छ ।
 
गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता लकडाउन भएपछि रोकिएको थियो । अब डिसेम्बर ५ मा ग्रान्ड फिनाले हुनेछ । यो मिस नेपालको २६ औं संस्करण हो ।
 
यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो । तर, काठमाडौंको अडिसन बाँकी हुँदै लकडाउन भएपछि बाँकी प्रक्रिया रोकिएको थियो । हिडेन ट्रेजरका निर्देशक सुवर्ण क्षत्रीले कोरोना भाइरस केही समय हामीमाझ रहने देखिएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएरै प्रतियोगिता गर्न लागिएको बताए ।
 
उनका अनुसार प्रतियोगीहरूको ८० प्रतिशत प्रशिक्षण अनलाइनबाटै हुनेछ, अन्तिम चरणका केही प्रशिक्षणका लागि भने सबै प्रतियोगीहरूको पीसीआर परीक्षण गरी बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा ‘क्लोज क्याम्प’ मा राखिनेछ । त्यसपछि फिनालेपछि मात्र उनीहरू बाहिर निस्कन पाउनेछन् । सीमित अतिथिबीच फिनाले सोही होटलमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।
 
यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् ।
 
यस पटक चिकित्सा विज्ञान पढेका युवतीको बाहुल्य छ । अर्को वर्षदेखि शारीरिक उचाइको मापदण्ड पनि परिवर्तन हुने क्षत्रीले जानकारी दिए । अहिले प्रतियोगितामा सहभागी जनाउन घटीमा ५ फिट ४ इञ्च हुनुपर्छ ।