पर्याप्त मल नपाएपनि धान उत्पादन बढ्यो

कार्तिक २८,२०७७

-

कात्तिक २८, २०७७ काठमाडौं ।
 
म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । । 
 
 
गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताए । 
 
 
लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ । 
 
विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् । रासस