कोरोना महामारीले चिज उद्योगमा असर, चिज निर्यात नहुँदा व्यवसायी मर्कामा

कार्तिक २८,२०७७

-

कात्तिक २८, २०७७ काठमाडौं ।
 
कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा व्यवसायी मारमा परेका छन् ।
 
विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए ।
 
नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ ।
 
लकडाउन र महामारीको शुरूवाती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उनले बताए ।
 
चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो । मुख्य शहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शुन्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ ।
 
इलाममा वार्षिक २० करोडभन्दा बढीको चिज उत्पादन हुने गरेको छ । व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन् ।
निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन् । यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो ।
 
कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ ।
 
तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्कलन हुने गरेको थियो । तर, कोरोना शुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ ।
 
जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन् । विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ ।
 
जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजार लगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ ।