अमेरिकामा निर्मित कोरोनाविरुद्धको खोप तेस्रो चरणको परीक्षण पनि सफल

मंसिर ०३,२०७७

-

मंसिर ३,२०७७ काठमाडौं ।
अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणको अन्तिम मूल्याङ्कनमा उक्त खोप वृद्धहरुमा समेत भाइरसको संक्रमण रोक्न ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले बुधबार बताएको छ ।
 
कम्पनीले परीक्षणमा सहभागी १७० जनामा स्वयम्सेवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएको छ । त्यसमध्ये १६२ जना संक्रमितलाई प्लसेवो वा सलाइन दिइएको थियो भने ८ जनालाई वास्तविक खोप दिइएको थियो । यसले खोप ९५ प्रतिशत प्रभावकारी पाइएको फाइजर कम्पनीले जनाएको छ ।
 
कम्पनीले शुरुमा खोप ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो । जसलाई स्वास्थ्य अधिकारीहरुले खुसी व्यक्त गरेका थिए । ‘खोपको प्रभावकारिता हरेक उमेर र जातिमा समान देखिएको छ । ६५ वर्षभन्दा माथिकामा पनि यसको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहेको छ,’ फाइजर र जर्मन पार्टनर बायोएनटेकले संयुक्त विज्ञप्तिमा जनाएको छ ।
 
‘परीक्षणका दौरान १० जनामा कोभिड–१९ को गम्भीर लक्षण देखिएको थियो जसमध्ये ९ जना सलाइन प्रयोग गरिएका थिए भने एक जना बीएनटी१६२बी२ खोप लगाएका समूहका थिए,’ विज्ञप्तिमा भनिएको छ । बीएनटी१६२बी२ खोपका लागि दिइएको प्रयोगात्मक नाम हो ।
 
पहिलो डोज खोप दिइएका २ प्रतिशत र दोस्रो डोज दिइएका ३.७ प्रतिशतमा सामान्य साइड इफेक्ट देखिएको र धेरै उमेरमा भएकामा कम र हल्का साइड इफेक्ट देखिएको बताए ।
 
एक स्वतन्त्र समूहले पनि कम्पनीको परीक्षण र साइड इफेक्टलाई अध्ययन गरिरहेको छ । हालसम्म खोपबारे कुनै गम्भीर सुरक्षा चासो नपाइएको कम्पनीले जनाएको छ ।
 
पछिल्लो नतिजा प्राप्त भएपछि फाइजरले खोपको आपत्कालिन प्रयोगका लागि अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनसँग केही दिनभित्र अनुमति लिने जनाएको छ । आफूले प्राप्त गरेको तथ्यांकलाई विश्वभरका नियामक निकायहरुलाई पनि प्रदान गरिने कम्पनीले जनाएको छ । फाइजरले यो तथ्यांकलाई वैज्ञानिक जर्नलमा पनि प्रकाशित गर्ने योजना रहेको जानकारी दिएको छ ।
 
बायोएनटेकका सहसंस्थापक तथा कार्यकारी अध्यक्ष डा. उगुर साहिनले खोपको प्रदानले तीव्र गतिको सुरुक्षा अहिलेको महामारी रोक्नलाई महत्त्वपूर्ण औजार बन्ने विश्वास व्यक्त गरेको सीएनएनले खबर लेखेको छ ।