मेलम्ची खानेपानीको वितरण प्रणाली तयारी अवस्थामा

मंसिर ०४,२०७७

-

मंसिर ४,२०७७ काठमाडौं ।
मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।
 
पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।
 
मेलम्ची खानेपानी उप आयोजना-२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिनुभयो । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।
 
चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ । मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको प्रवक्ता प्रजापतीको भनाइ छ ।
 
पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उहाँको भनाइ छ । आजको गोरखात्रमा खबर छ ।