विराटनगरमा कोरोना संक्रमित ३ जनाको मृत्यु

मंसिर ०५,२०७७

-

मंसिर ५,२०७७ काठमाडौं ।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरमा उपचाररत ३ जनाको मृत्यु भएको हो ।
 
मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
 
भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
 
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
 
सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
 
कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
झापाको गौरादह नगरपालिका-८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७:३० बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
 
पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएको थियो ।