चिसो बढेसँगै बेँसी झरे भेडीगोठ

मंसिर ०५,२०७७

-रासस

मंसिर ५, २०७७ काठमाडौं ।
चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले लमजुङका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् ।  गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् । घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका  स्थानीयका भेडीगोठ रहेका छन् ।
 
उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली  पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिए । उनले भने, “घलेगाउँको दुई  भेडीगोठ रहेका छन् । यी भेडीगोठमा  एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । ” हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।
 
त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केही क्युबे-ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् । जिल्लाको उत्तरी  ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ ।
 
जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ ६ महिना लेकमा र ६ महिना बेँसीमा रहन्छ ।  बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै  लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९०  रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा।रुपेश श्रेष्ठले जानकारी दिए ।
 
उनले भने, “भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।” त्यस्तै, भेडाको ऊन निकालिन्छ ।  केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ रहेका छन्   । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रु ३०० मूल्य रहेको छ । त्यस्तै, वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको जनाइएको छ ।
 
वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा।श्रेष्ठले जानकारी दिए ।