नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुनसक्छः स्वास्थ्यमन्त्री

मंसिर ०६,२०७७

-

मंसिर ६,२०७७ काठमाडौं । 
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ ।
 
शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो ।
 
स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण भइसकेको जानकारी दिनुभयो ।
 
सामर्थ्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाइ छ ।
 
मन्त्री ढकालले विश्वमा कोरोनाविरुद्धको खोप उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइ प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली जनतालाई पनि ‘भ्याक्सिन’ दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यानकेन्द्रित गरी काम गरिरहेकोे बताउनुभयो ।
 
उहाँले अहिलेपनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत ‘होम आइसोलेसन’मा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।
 
‘जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको’
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घर–घरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताउनुभयो ।
 
उहाँले चुनावमा भोट माग्न जनताको घर–दैलोमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु घर–घरमा पुग्नुपर्ने बताउनुभएको हो ।
 
अध्यक्ष तिमिल्सिनाले दलहरुले पनि आफ्ना भ्रातृसंस्थाहरुलाई परिचालन गरी गाउँ–गाउँमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभयो ।