झण्डै ८ महिनादेखि बन्द रहेको ठमेलमा चहलपहल बढ्दै

मंसिर १२,२०७७

-

मंसिर १२,२०७७ काठमाडौं ।
उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ। 
 
विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो। 
 
कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन्। 
 
घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो। अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड-१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। 
 
बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो। 
 
व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन्। ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्। 
 
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड-१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि नआए पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर ठमेलमा पर्यटकीय गतिविधि शुरु गरेको बताए।