दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओली तयार, प्रचण्डको प्रस्तावमा लगाएका आरोप पुष्टि गर्न चुनौती

मंसिर १३,२०७७

-

मंसिर १३,२०७७ काठमाडौं ।
 
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् ।
 
ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको प्रस्तावुको प्रस्तुति- तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।
 
त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले । खासै महत्व नदिँदा पनि हुने थियो । 
 
तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु, ओलीको जवाफमा भनिएको छ ।
 
त्यस्तै, ओलीले आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । 
 
जवाफको बुँदा २३ मा उनले भनेका छन्, म आज खुल्ला आहृवान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ? उनले चार महिनापछि पार्टीको महाधिवशेन हुन लागेको सन्दर्भ उल्लेख गर्दै लेखेका छन् ।
 
मेरो मनमा एउटा गम्भीर प्रश्न छ-चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ-नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । 
 
के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?
 
यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्,कि त आरोप पुष्टि गर्नुस् होयन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।
 
५३ बुँदे जवाफको बुँदा २४ औं बुँदामा उनले लेखेका छन्, तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाउनु भएको छ । पार्टीमा उत्पन्न अन्योल र गतिरोध’ का लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार ‘करार’ गर्नुभएको छ। 
 
अझ अगाडि बढेर ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिना’ भन्ने दम्भी, ‘वुर्जुवा अराजकतावादी’, र ‘सामन्ती निरङ्कुश’ आदि अनेकौं फरेब लगाउनु लगाउनु भएको छ ।
 
मलाई ‘नवउदारवादी’, ‘दलाल-नोकरशाही पुँजीवादी बाटोको अनुशरण गरेको’ र ‘समाजवाद’ विरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली ‘परम्परागत संसदीय गणतन्त्र’ मा बदलिएको निष्कर्ष निकाल्नुभएको छ । अझ अगाडि बढेर ममाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा.....अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु लगाइएको छ ।
 
कहिलेकाहीं आफैं छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ? यी यति अराजनीतिक आरोपहरु हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ।