नागरिकता नुहँदा भूकम्पले भत्किएको घर बनेन,वृद्धाको छाप्रोमै बास

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
दमौली देवघाट ३ नाल्बुङ निवासी माया गुरुङ ७३ वर्षकी भइन्। गाउँमै हुर्कि बढी वृद्धावस्थामा ढल्कन थालेकी उनी नेपाली हुन् भन्नेमा कुनै शंका छैन। तर राज्यको नजरमा भने उनी यत्तिका उमेरम्म पनि अनागरिक नै थिइन्। 
 
उनले अहिलेसम्म नागरिकता पाएकी थिइनन्। बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन्। तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भत्कियो । 
 
प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट बञ्चित भइन्। मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ। तर मायाको नागरिकता नै थिएन। 
 
आफन्तको घर भत्केपछि टिनले ढाकेको झुप्रोमा एक्लो जीवन बिताउँदै आएकी उनको अवस्थबारे स्थानीय युवाले खबर दिए पछि प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले साता अघि वृद्धाको अवस्था थाहा पाए पछि घरमै गएर नागरिकता दिएको बताए। 
 
‘नागरिकता नभएकैले भत्ता र घर बनाउने पैसा पनि पाउन नसकेको सुने पछि घरमै गएर नागरिकता दियौं,’ उनले भने। 
 
अब उनले सामाजिक सुरक्षा भत्ता पाउने बाटो पनि खुलेको छ। स्थानीय युवा गंगासिं विकले वृद्धाको अवस्थाबारे जानकारी गराए पछि नागरिकता दिलाउन पहल थालेको तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठका सचिवालय संयोजक अनिल पाण्डेले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।