कृषि विश्वविद्यालयका ८० प्रतिशत फेल भएपछि विद्यार्थी आन्दोलित

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान पहिलो सेमेस्टरका अधिकांश विद्यार्थी फेल भएपछि आन्दोलित बनेका छन् ।
 
यही मङ्सिर ९ गते प्रकाशन भएको परीक्षाफलमा झन्डै ८० प्रतिशत हाराहारी विद्यार्थी फेल भएपछि उनीहरुले परीक्षाको छानबिन हुनुपर्ने र पुनः उत्तरपुस्तिका परीक्षणको माग गरेका छन् । 
 
उनीहरुले विश्वविद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्न हालसम्म पनि मापदण्ड नबनाएको भन्दै अन्य विश्वविद्यालयको जस्तै कार्यविधि बनाउन माग गरेका छन् ।
 
परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले परीक्षा नियन्त्रक नारायण जोशीलाई भेटेर परीक्षामा पास हुनेगरी उत्तर लेखेका विद्यार्थी किन फेल भए भनेर प्रश्न गर्दा उत्तर पुस्तिका परीक्षण गर्ने कार्यविधि नभएको र शिक्षकहरुको लापरबाहीका कारण धेरै फेल भएको पीडित विद्यार्थीहरुले रातोपाटीलाई बताए । 
 
परीक्षा नियन्त्रक जोशीले विद्यार्थीहरुलाई भने, ‘तिमीहरुको रिजल्ट देखेर मलाई नै अचम्म लागेको छ, मैले गर्न सक्ने केही पनि हैन । विश्वविद्यालयमा उत्तर पुस्तिका कार्यविधि नै छैन । यो त शिक्षकहरुको नै गल्ती हो’ ।
 
निमित्त डीन कल्याणी मिश्रले शिक्षकहरु र परीक्षा नियन्त्रकको गल्तीका कारण धेरै विद्यार्थी फेल भएको बताएको विद्यार्थीहरुले बताए ।
 
विद्यार्थी भर्नाका बेला प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नै फेल हुने, प्रयोगात्मक परीक्षामा सहभागी विद्यार्थी नै नतिजामा एब्सेन्ट देखिने लापरबाही भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।