हुलाकी सडक निर्माण शुरु नगरे आन्दोलनमा उत्रने सर्लाहीवासीको चेतावनी

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
पूर्व-पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने सर्लाहीवासीले चेतावनी दिएका छन् ।
 
ठेकेदारको लापर्वाहीले लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व-पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् ।
 
शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा बसेको सर्वदलीय बैठकले मङ्सिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे सङ्घर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।
 
सङ्घीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाइ छ ।
 
बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गरे ।
 
मलङ्वादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्वादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।
 
‘क’ वर्गको ठेकदार भए पनि आफूसँग आवश्यक मेसिनरी साधन, अन्य आवश्यक सामग्री नरहेको कारण पनि निर्माण कार्य ढिलो भएको भन्दै उनै ठेकदारबाट यो सडक निर्माणको काम सम्भव नरहेको सभापति चौधरीले बताए ।
 
हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गरिरहेका छन् ।
 
सडक नबन्दा धुलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, स्थानीय निकायका प्रमुख र नागरिक समाजका अगुवा नियमनकारी निकायका प्रतिनिधि, सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भएका थिए ।
 
छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र सङ्घर्ष गरिरहने निर्णयसमेत भएको छ ।