देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्य सुरु

मंसिर १५,२०७७

-आस्था न्यूज

मंसिर १५,२०७७ काठमाडौं ।
सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।
 
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शय्याको अस्पताल बनाउन लागेको हो ।
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३ सय ९६ स्थानीय तहमा एक साथ ५ शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको बताए । यस्तै सात वटा प्रदेशमा ५०र५० शय्याका सरुवारोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए ।
 
पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै, सात वटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।
तस्बिरः रासस