निर्यात व्यवसायलाई उकास्ने गरी कार्ययोजना तयार पार्ने शेखर गोल्छाको घोषणा

मंसिर १६,२०७७

-आस्था न्यूज

मंसिर १६, २०७७ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले निर्यात व्यवसायलाई अर्थतन्त्रको ‘इन्जिन’को रुपमा विकास गर्नेगरी आफ्नो कार्ययोजना तयार गर्ने जनाएको छ ।
 
महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्नेगरी महासंघले दृष्टिकोण निर्माण गर्न लागेको बताउनुभएको छ ।
 
मंगलबार निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अबको १०० दिनभित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताउनुभयो ।
 
अहिले अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्समात्र रहेको र कुनैपनि बेला कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले निर्यातका क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो ।
 
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्थामा रहेको कमजोरीका कारण निर्यातलाई प्रवद्र्धन गर्न नसकेको बताउनुभयो ।
 
अहिलेभन्दा ३० वर्षपहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै जानु दुःखद् रहेको उहाँले बताउनुभयो ।
 
महासंघले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न सरकारसमक्ष माग राख्ने उहाँको भनाइ थियो ।
 
कार्यक्रममा उद्योगी–व्यवसायीहरुले महासंघको गरिमालाई तल–माथि गरेर निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
निर्वाचनअघिको प्यानल नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरुको भनाइ छ ।