विकासको लागि नेपालले छिमेकी दुवै देशसँग फाईदा लिनुपर्छ : पूर्व अर्थमन्त्री महत

मंसिर १६,२०७७

-आस्था न्यूज

मंसिर १६, २०७७ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ । 
 
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने,‘भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हो ।
 
चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो ।
 
भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।’
 
क्लबका सभापति ऋषि धमलाको सभापित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए ।
 
उनले भने,‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि छ । साथसाथै, आर्थिक सम्बन्ध बढि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । 
 
चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ । लगानीको कुरा गर्दा भारतबाट आएको छ। चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन् । 
 
भारतसँग आवातजावात बढि छ । चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ । भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ ।
 
लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ ।’
 
उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । महतले नेपालले  भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।
 
उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए । 
 
त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने,‘हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने यता÷उता चर्चामा आएका छन् । 
 
यसबारेमा निश्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ । छानबिन गरेर टुँगो लागोस् । भारतसँगको सिमाना पनि टुँगो लगाउनुपर्छ । भारत र चीनसँगको सिमा विवाद टुँगो लगाउनुपर्छ ।
 
अहिले भएका सानातिना समस्या समाधान गर्दै जानुपर्छ । भारतबाट रअका प्रमुख नेपाल आए । सेना प्रमुख पनि नेपाल आए । विदेश सचिव पनि आए । यी सबै रुटिन खालका भिजिट हुन् ।