विष्णु पौडेललाई केक खुवाएपछि नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की

मंसिर १६,२०७७

-आस्था न्यूज

मंसिर १६,२०७७ काठमाडौं ।
बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की परेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् ?भन्ने प्रश्न गरेका थिए । 
 
 
सचिवालयका एक सदस्यका अनुसार ओलीले आफूतिर लक्षित गरी प्रश्न गरेको बुझाईमा रहेका कार्यकारी अध्यक्ष दाहालले पार्टी गम्भीर मोडमा रहेको, त्यसका लागि दुई प्रस्ताव अगाडि आएको र तिनै विषय बैठकका कार्यसूची हुने बताएका थिए । ती सदस्यकाअनुसार दाहालको भनाई थियो, पार्टी गम्भीर मोडमा छ । समाधानका लागि हामी दुवैले प्रस्ताव पेस गरेका छौं । त्यसमै छलफल गर्ने त हो नि, कार्यसूची त्यही हो ।’
 
दाहालको यस्तो भनाईपछि ओलीले आरोपपत्रमा छलफल हुन नसक्ने अडान राखेका थिए । सचिवालयका ती सदस्यकाअनुसार ओलीले आक्रोशितरुपमा भनाई राखेका थिए, ुलाञ्छनापत्रमाथि छलफल हुनै सक्दैन । त्यसले पार्टीको साख गिराएको छ । बेइज्जत गरेको छ । त्यसमा मेरो उछितो काडिएको छ । 
 
त्यसमाथि छलफल हुनै सक्दैन । त्यो कसरी एजेण्डा हुन सक्छ?’ ओलीले दाहालको प्रस्तावलाई अस्वीकार गर्नुपर्ने आफ्नो लिखित प्रस्तावमै राखेका छन् ।
 
ती सदस्यका अनुसार यसबाहेक ओलीले बैठकमा भनेका थिए, पार्टी एकता गर्ने हो भने निराधार लाञ्छनापत्र फिर्ता लिएर माफी माग्नु पर्छ । बुकलेट छापेकोमा पनि माफी माग्नु पर्छ । बहुमत अल्पमत गरेर जान सकिन्नँ । त्यो महाधिवेशन पछाडि मात्रै लागू हुन सक्छ ।’
 
त्यसपछि फेरि बोलेका दाहालले ओलीले बैठक र अन्य नेताहरुलाई उत्तेजित पार्ने कोसिस गरेको तर आफूहरु शान्त भएर बैठकमा छलफल गर्ने बताएका थिए । 
 
सचिवालयका अर्का एक नेताका अनुसार दाहालको भनाई थियो, ‘कमरेड केपीले उत्तेजित पार्ने कुरा बोल्नु भयो । हामी उत्तेजित हुन्छौं भन्ने ठान्नु भएको होला, हामी उत्तेजित हुँदैनौं, हामी गम्भीर छौं । पार्टी एकताको रक्षा गर्ने र अहिलेको छलफललाई सकारात्मक दिशातिर लैजाने र सही निष्कर्ष निकाल्ने कुरामा गम्भीर छौं । अब छलफल गरौं ।’
 
 
ती सदस्यका अनुसार दाहाल बोल्दाबोल्दै ओली आक्रोशित हुँदै बीचमा बोलेका थिए, ‘जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?’ त्यसपछि अरु नेताहरू पनि ओली र दाहालबीचको भनाभनमा प्रवेश गरेका थिए । केहीबेर बैठकको वातवरण नै तनावपूर्ण बनेको थियो ।
 
ओलीले दाहाललाई बोल्न रोकेपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेका थिए । सुरुमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको सचिवालयका ती सदस्यले बताए । कान्तिपुरबाट