सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढ्यो

पौष ०७,२०७७

-

पुस ७,२०७७ काठमाडौं ।
देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ ।
 
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो दिन ९६ अंकको भीषण पहिरो गएको सेयर बजार मंगलबार भने ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा उक्लिएको छ ।
 
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेको छ । संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाको सेयर बजारमा नकरात्मक असर पर्ने कतिपयको अनुमान थियो । तर बजारले सकारात्मक दिशा तय गरेको छ ।
 
कारोबार रकम पनि पौने ७ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५५ हजार ७ सय १ करोबारबाट २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर किनबेच भएका छन् ।
 
जसअनुसार कारोबार रकम ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बढेर हरियाली देखिएका छन् ।