वायु प्रदूषणले कोरोना संक्रमण बढ्न सक्छ, सकभर बाहिर निस्कन चिकित्सकको सुझाव

पौष २१,२०७७

-

पुस २१,२०७७ काठमाडौं ।
काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
 
वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।
 
तिलगंगा आँखा प्रतिष्ठानका कन्सल्टेन्ट एवम् अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले वायु प्रदषणले आँखामा मात्र नभएर शरीरको सबै भागमा असर पार्न सक्ने बताउँछन् । आँखालाई सुख्खा बनाउने, पोल्ने रसिलो हुने, रातो हुने , बिझाएको जस्तो अप्ठ्यारो महसुस गराउन सक्ने उनले बताए ।
 
उनले प्रदूषणबाट बच्न कालो चस्मा लगाउने, दिनमा दुईतीन पटक सफा पानीले आँखा पखाल्ने र आँखा धेरै सुख्खा भयो भने ‘आइ ड्रप’ हाल्न सुझाव दिए । यस्ता समस्याहरु बल्झिएमा नजिकैको आँखा केन्द्रमा सम्पर्क राख्‍न पनि उनले अनुरोध गरे ।
 
श्वासप्रश्वास रोग विशेषज्ञ डा.अर्जुन कार्कीका अनुसार वायु प्रदूषणले श्वासप्रश्वासका समस्याहरु निम्त्याउने सक्छ । उनी भन्छन्,‘वायु प्रदूषणले घाँटी, आँखा, नाकमा समस्या ल्याउन सक्छन् । एलर्जी गराउन सक्छ । दमरोगी ,मुटु रोगीहरुलाई यसले अझ बढी च्याप्न सक्छ । दमका रोगी छैनन् भने पनि यो लाग्न सक्ने जोखिम बढाउँछ । लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई क्यान्सरको पनि डर हुने हुँदा यसबाट जोगिनुपर्ने उनले सुझाव दिए ।
 
डा. कार्कीले सरकारले पनि प्रदूषण कम गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै काम परेका बेला मात्र घरबाहिर निस्कन अनुरोध गर्दै घरमै व्यायाम र मास्क अनिवार्य लगाउनुपर्ने बताए ।
 
प्रदुषणले श्वासप्रश्वास प्रणालीमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ ।