पुसमा नै बढ्यो राजधानीको तापक्रम !

पौष २७,२०७७

-

पुस २७,२०७७ काठमाडौं ।
अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरे ।
 
आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो ।
 
‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’
 
दिन लम्बिदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘प्रदूषण बढ्यो भने पनि अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो महसुस हुन्छ ।’
 
गत साता राजधानीसहित देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रममा गिरावट आए पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधरणले प्रदूषण बढेको समय पनि चिसो महसुस गर्न पाएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।