ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिएः पूर्वसभामुख ढुंगाना

पौष २७,२०७७

-

पुस २७, २०७७ काठमाडौं। 
पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिएको बताएका छन् । 
 
सोमबार काठमाडौंमा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरि प्रतिनिधिसभा विघटन गर्नुभएको छ । 
यो संविधानको विघटन हो ।’ उनले यो संविधानले राम्रो व्यवस्था होइन, तानाशाह नै पो जन्माएको हो कि भन्ने आशंका आम रुपमा उठ्ने भन्दै यसको निरुपण हुनुपर्ने बताए।
 
ढुंगानाले न्यायालयले कमजोरी गर्न नहुने भन्दै न्यायालयमाथि नागरिकले प्रश्न उठाउने अवस्था नआओस् भन्ने कामना गरे। उनले भने, ‘अदालतको पनि जवाफदेहिता छ। सडकबाटै भोलि न्यायाधीश तान्ने दिने आउला। फिलिपिन्समा त्यस्तो भएको छ। बलिदानी प्रधानमन्त्री भएको देशमा ज्ञानी न्यायाधीश छन्। यदि अहिलेको कदम सच्चिएन भने संविधान खारेज हुन्छ।’
 
उनले नागरिक चनाखो हुनुपर्ने बेला आएको बताए। ‘एक दिनको मात्रै कदम होइन विघटन हुने कुरो। सांसद नै चनाखो हुनुपर्ने उनीहरुलाई केही थाहा भएनछ। प्रधानमन्त्री भलादमी छन् भनेर चुप लागेर बसेछन्। प्रतिनिधिसभाका हरेक सदस्य अहिलेको कदममा जिम्मेवार हुनुपर्ने हुन्छ।’
 
उनले राष्ट्रियसभाको अधिवेशन पनि नाटकीय रुपमा अन्त्य भएको टिप्पणी गरे। ‘हिजो नाटकीय हिसाबले राष्ट्रियसभाको अधिवेशन बन्द गरिदिनुभयो ।’ अदालतले संसद विघटनको निर्णय बदर नगरेमा संविधान नै बदर गरेसरह हुने ढुंगानाको दावी छ । उनी भन्छन्– ‘संविधान हेर्ने हो भने ससंद पुनःस्थापना हुन्छ । अदालतले पुनःस्थापना नगर्ने हो भने संविधान नै खारेज गरिदिएपनि हुन्छ ।’
 
यद्यपि प्रतिनिधिसभा ब्यूँतिए पनि राजनीतिक रुपमा अशक्त भइसकेकोले धेरै काम गर्न नसक्ने ढुंगानाको दावी छ । उनले अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट नभए सडकबाट पुनःस्थापना गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।