मन्त्रीहरू कार्यकक्ष खाली गरेर मैदानतिर, सिंहदरबार सुनसान

पौष २८,२०७७

-

पुस २८, २०७७ काठमाडौं ।
प्रधानमन्त्री ओलीले चैतदेखि सिंहदरबार टेकेका छैनन् । आइतबार मन्त्रिपरिषद् बैठकमा १२ जना मन्त्री मात्र सहभागी थिए । सोमबार १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये दुई राज्यमन्त्री पनि आफ्नो च्याम्बरमा भेटिएनन् ।
 
हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले यसलाई ‘लोडसेडिङ’ नाम दिइसकेको छैन । बेला न कुबेला बिजुली जानुको खास कारण के हो त भनेर प्रधानमन्त्री कार्यालयले सोमबार सरोकारवालासँग छलफल चलायो, समस्याको समाधान खोज्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दियो ।
 
प्रधानमन्त्री कार्यालयको छिमेकमा रहेको ऊर्जा मन्त्रालयमा भने साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कान्तिपुरसँग अर्घाखाँचीदेखि बुटवल, नवलपरासीदेखि तनहुँ हुँदै पोखरासम्मको यात्रा वृत्तान्त सुनाए र भने, ‘के गर्नु १ विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्‍यो, सरकारको काम पनि गर्नैपर्‍यो ।’ उनले अहिले आफूहरूको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रित भएको बताए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । ओली कहिले सिंहदरबार आउँछन् भन्ने थाहा पनि छैन । प्रधानमन्त्री ओलीको कार्यकालको यो तीन वर्षमा उनको नेतृत्वमा हुनुपर्ने झन्डै ८० प्रतिशत काम बालुवाटारबाटै भइरहेको छ ।
 
उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरू उतिसारो सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरबार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली गत जेठमै तन्दुरुस्त भइसकेका छन् ।
 
त्यसैले पनि अहिले बालुवाटार, सिंहदरबार र सडक सबैतिर ओली नेकपाको वर्चस्वजस्तो देखिन्छ, अधिकांश कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा प्रकट भइरहेका छन् । पछिल्ला दिनमा सुदूरपश्चिमको धनगढीदेखि काठमाडौंको प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौं भाषण गरे । 
 
यसले सरकारको काम कम र पार्टी काममा बढी केन्द्रित हुन नयाँ पुराना सबै मन्त्रीलाई प्रोत्साहन गरेको छ । त्यसैले उनीहरू जिल्ला–जिल्लामा दौडिएका छन् । ‘सरकारमा पनि हामी, सडकमा पनि हामी, हामी पो आन्दोलनकारीझैं देखियौं त,’ मन्त्री रायमाझी भन्दैथिए ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलका कार्यकक्ष क्रमशः तल्लो माथिल्लो तलामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बग्रेल्ती काम भएको भन्दै रक्षा मन्त्रालयबाट सरुवा गरिएका उपप्रधानमन्त्री पोखरेलको अहिलेको चासो सरकारभन्दा बढ्ता पार्टी नै हो । पुस ५ गते नेकपा दुई चिरा परेपछि पोखरेललाई रक्षा मन्त्रालयमा जस्तो फुर्सदिलो भएर बस्न परेको छैन पनि ।
 
अरू त अरू, कोरोनाको महामारी बढेका बेला अन्तर्राष्ट्रिय सिमाना बन्द गराउने सिफारिस गर्ने सीसीएमसीका संयोजक पोखरेलले पछिल्लो समय त्यही समितिको बैठकसमेत डाकेका छैनन् । तर सोमबार बारा पुगेर मन्त्री पोखरेलले भनिदिए, ‘सीमानाका बन्द भएकाले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, म यहाँबाट जानेबित्तिकै यसलाई खुलाउनुपर्छ भनेर प्रधानमन्त्रीसँग भन्छु ।’
 
पोखरेल नेतृत्वको सीसीएमसीले समेत राम्रो समन्वय नगर्दा केही महिनाअघिसम्म भारतबाट आउने नागरिक सीमामा निकै लामो समयसम्म अलपत्र परेका थिए । वाग्मती प्रदेशको संयोजन गर्ने जिम्मेवारी पाएका पोखरेल पछिल्लो समय वाग्मती र प्रदेश २ का जिल्ला दौडाहामा व्यस्त छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।