खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ता दिने तयारी गरिरहेका छौंः खेलकुद मन्त्री

माघ ०६,२०७७

-

माघ ६,२०७७ काठमाडौं ।
 
युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन् । 
 
मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९ औँ एन्फा कँग्रेस (साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिदैँ आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने बताएका हुन् । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उनको भनाई छ ।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सिप भएपनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताए । 
 
नेपाली खेलाडीलाई अन्र्तराष्ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने उनको भनाई छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भएमात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उनले बताए ।