किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ, किसानलाई क्रेडिट कार्ड प्रदान

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।
 
बैंकले करिब २ दर्जन किसानहरुलाई किसान क्रेडिट कार्ड दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको तर्फबाट कार्ड किसानहरुलाई हस्तान्तरण गरे ।
 
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनको बैंक बनाइने उनले बताए ।
 
किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।
 
कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुनेछ । एटीएम र भिसा कार्ड चिप्समा चल्छन् भने किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन ।
 
यो कार्डले सुरुआती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कृषि विकास बैंकका डिजिटल बैकिङ विभाग प्रमुख बासु अधिकारी बताउँछन् । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँस्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुनेछ ।
 
किसान एपलाई खोल्न, पढ्न तथा आफ्नोबारे केही जानकारी थप गर्न किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । किसान एप सञ्चालनको प्रक्रिया किसानले कम्तिमा एउटा मोबाइल बोकेका हुन्छन् भन्ने अवधारणामा निर्माण गरिएको बैंकले जनाएको छ ।