काठमाडौं विश्‍वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा.भोला थापालाई नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 
 
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक बालचन्द्र लुइँटेलको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।
 
माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । मेडिकल स्कुलका प्राध्यापक उनी विभिन्न विवादमा मुछिँदै आएका छन् । उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । पूर्वरजिस्ट्रार थापाले माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका थिए । 
 
विभिन्न १० वटा मापदण्ड तय गरेर छनोट समितिले यी नाम सिफारिस गरेको बताइएको छ । केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए । सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।