राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस क्लब बिजयी

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
 
विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।
 
मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश-१ ले नतिजा सुम्पिएको छ । पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ ।
 
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी २४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए । प्रदेश–१ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए ।
 
यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मत्र १ सय ३१ रन जोड्न सक्यो । प्रदेश १ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश काडेलले ११ रनको योगदान गरे । बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो । जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।
 
समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यसअघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । समूह ‘ए’ मा रहेको प्रदेश १ यसअघि एपीएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । योसँगै प्रदेश-१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।