प्रतिनिधिसभा पुर्नस्थापनाको कुनै सम्भावना छैन, निर्वाचनमा होमिन अर्थमन्त्री पौडेलको आग्रह

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरेका छन् । उनले निर्वाचन हुँदैन भनेर भ्रम फैलाइएको भन्दै सरकारले भ्रम चिरेरै छाड्ने दावी पनि गरे ।
 
बिहीबार ओली निकटप्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै पौडेलले आगामी निर्वाचनबाट केपी ओली नेतृत्वको पार्टी नै सवैभन्दा ठुलो पार्टी बन्ने दावी गर्दै अनुशासित प्रतिनिधि सभाका लागि निर्वाचनको मिति तोकिएकाले निर्वाचन भएरै छाड्ने बताए । उनले निर्वाचन हुँदैन भन्नेहरुलाई उपबुज्रुकको संज्ञा पनि दिए । 
 
‘निष्पक्ष,स्वतन्त्र निर्वाचन गर्न सुरक्षा निकाय र राजनीतिक दलहरुले भनिरहेका छन् । निर्वाचन आयोग निर्वाचन गर्न तयार छ । सरकार बजेट स्रोत गर्छ । यस्तो बेलामा भ्रम फैलाउने प्रयासलाई च्यातिदिनुहोला भन्ने आग्रह गर्छु,’ उनले भने । 
 
सम्बोधनका क्रममा पार्टी एकता जोगाउन गरेको प्रयासहरु निरर्थक भएको पौडेलको भनाइ थियो । नेकपा ओली पक्षका माहासचिव समेत रहेका पौडेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपपत्रकै कारण नेकपा विभाजनतर्फ गएको दावी गरे । 
 
‘पार्टीमा उहाँहरुले गम्भिर आरोप लगाउनुभयो । तर पुष्टि हुने प्रमाणसहित उहाँहरु पार्टी बैठकमा आउने आँट गर्नुभएन’, पौडेलले भने, संसदीय दलको बैठक बसौ, त्यसले अस्वीकार गर्छ भने ठिक छ भन्दा तयार हुनुभएन ।’ 
 
उनले संसदमा अविश्वास प्रस्ताव दर्ता गर्दा पनि छलछाम गरेको भन्दै प्रचण्ड माधव नेपाल पक्ष सत्ता लिप्साका लागि मरिहत्ते गरेकाले प्रधानमन्त्री ओलीसामु उपस्थित भएपछि प्रतिनिधि सभा विघटन गर्नुको विकल्प नभएको बताए । 
 
उनले संसद विघटनपछि सरकारले निर्वाचन घोषणा गरेको भन्दै संसद विघटनबारे सर्वोच्चमा विचाराधिन मुद्दाको सर्वोच्चले गर्ने निर्णय स्वीकार्ने बताए । तर उनले प्रतिनिधिसभा पुर्नस्थापनाको कुनै सम्भावना नरहेको दावी गरे । ‘
 
प्रचण्डको आरोपपत्र पुर्वाग्रही र प्रतिशोधपूर्ण भएको भन्दै उनले  नेकपालाई विभाजनतिर लगेको घट्नाक्रमले पुष्टि गरेको तर ति आरोप आरोप पुष्टि गर्ने सामाथ्र्य नभएको बताए ।