पुस मसान्तसम्म ६ प्रतिशतले निर्यातमा वृद्धि

माघ ०८,२०७७

-रासस

माघ ८, २०७७ काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको ९साउनदेखि पुस मसान्तसम्म० तथ्याङ्कअनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।
 
विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनाको तथ्याङ्कअनुसार ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । 
 
यसैगरी, ६ महिनाको अवधिमा रु साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रु ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।  तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ । 
 
हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार ६ महिनामा रु सात खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु छ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो । 
 
चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र रु एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले रु एक खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले रु चार खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
 
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब ४ करोड र असोज महिनामा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो । 
 
यसैगरी, कात्तिक महिनामा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड र पुस महिनामा सबैभन्दा धेरै रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । ६ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।