सबै भुक्तानी नपाएको भन्दै उखु किसानले गरे आन्दोलनको घोषणा

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
उखुको सबै भुक्तानी नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
 
गत पुस १३ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संघर्ष समितिबीच भएको सम्झौतामा २१ दिनभित्र बक्यौता उपलब्ध गराउने सहमति भएको थियो । 
 
सरकारसँग भएको दोस्रो पटकको सहमतिअनुसार सबै रकम भुक्तानी नभएपछि संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो ।
 
माघ १० देखि फागुन ७ सम्म किसान जागरण अभियान चलाउने, फागुन ८ देखि १४ सम्म कोलोपट्टी बाँधेर खेतमा काम गर्ने र फागुन १५ देखि २१ सम्म एक छाक भोकै बसेर खेतमा काम गर्ने संघर्ष समितिले जनाएको छ । यस अवधिमा पनि भुक्तानी नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।
 
उद्योग मन्त्रालयका अनुसार माघ ५ सम्म चिनी उद्योगीले ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । थप ८ करोड १ लाख रुपैयाँ सरकारको नियन्त्रणमा आइसकेकाले किसानले छिट्टै प्राप्त गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयको दाबीमा किसान भने ढुक्क छैनन् । उनीहरूले कुन किसानले कति रकम पाए, त्यसको विवरण सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन् ।
 
‘एकातिर मन्त्रालयले समय सीमाभित्र सबै भुक्तानी गराउन सकेन । अर्कोतिर कुन किसानलाई कति रकम उद्योगीबाट भुक्तानी हुनुपर्ने हो र कति पाइसके भन्ने विवरण पनि नआएको उखु किसान संघर्ष समिति सर्लाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
सम्पूर्ण रकम किसानहरूको खातामार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं सप्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म न्यायिक संघर्षको आन्दोलन जारी रहने विज्ञप्तिमा जनाइएको छ ।
 
१६ दिनसम्मको आन्दोलनपछि सरकार र उखु किसानबीच चारबुँदे सहमति भएको थियो । उखुको बक्यौता रकम माग गर्दै मसिर २८ देखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले पुस १३ मा सरकारसँग सहमति गरेका थिए । 
 
सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख भए पनि किसानले सबै भुक्तानी नपाएको गरनासो गरेका छन् ।