शालीनदीमा व्रत बस्न एक्सरे र पीसीआर रिपोर्ट चाहिने

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
काठमाडौंको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि एक्सरे र पीसीआर रिपोर्ट चाहिने भएको छ । 
 
कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।
 
मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइने पनि समितिले जनाएको छ ।
 
१५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालुहरुको लागि २० वर्षदेखि ५० सम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ । 
साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत लगायतको मापदण्ड तोकिएको छ ।
 
व्रतालुलाई नदीमा नुहाउन जाँदा स्कर्टिङ गरेर लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
 
माघ १५ देखि फागुन महिनासम्म हुने स्वस्थानी व्रतको समयमा शालीनदी दर्शन गर्न आउने दर्शनार्थीहरूलाई भने सामाजिक दुरी कायम गर्न प्रवेशद्वार र निस्कने द्वार छुट्टाछुट्टै राख्ने, सकेसम्म समूहमा हिँड्न नदिने जस्ता मापदण्ड कार्यान्वयनको लागि स्वयंसेवक खटाउने तयारी गरिएको छ ।