प्रेम दिवसमा नेपालमा मागअनुसार गुलाफको उत्पादन नहुँदा विदेशकै भर

फाल्गुण ०२,२०७७

-रासस

फागुन २,२०७७ काठमाडौं ।
 
पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन्स डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।
 
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।
 
प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि निरन्तर घट्दै गइरहेको छ । समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला राम्रो उत्पादन गर्ने क्षमता बनेको चितवनमा गुलाफ उत्पादन अहिले निरन्तर घटेको हो ।
 
फेब्रुअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौँको गुलाफ फूलको कारोबारसमेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।
 
पुष्प व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले प्रणय दिवसमा चितवनमा गुलाफ फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको बताए । उनले भने, ‘अन्य समयमा रु ५० मा बिक्री हुने गुलाफ यस दिन रु १०० मा बिक्री हुने गरेको छ । यसको बिरुवा महङ्गो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकाले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई रु १५० सम्म पर्छ ।’
 
यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ ।
 
गुलाफ फूलको उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकाले यसको उत्पादन चितवनभन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ ।
 
खुला ठाउँमा खेती गरेको गुलाफ त्यति आकर्षक नदेखिने भएकाले हरितगृहमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले जानकारी दिए । उनले चितवनमा व्यावसायिकरूपमा गुलाफको खेती गर्ने किसान नरहेको बताए ।
 
अहिले चितवनमा गुलाफ फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनका बागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको सङ्ख्या बढ्दै गए पनि गुलाफको खेती भने घट्दै गएको बताइन् । उनले भनिन्, ‘विशेष अवसरमा मात्र गुलाफको बिक्री हुने भएकाले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकाले किसानको आकर्षण गुलाफमा छैन ।’ धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको उनले बताए ।
 
नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।
 
फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाफको आन्तरिक उत्पादनमा कमी आएको प्राविधिकहरू बताउँछन् ।
 
यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ । गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यस वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रतिस्टिम रु ८० देखि १०० को हाराहारीमा दुई लाख स्टिम गुलाफको कारोबार भएको थियो ।
 
नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाभित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेकमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाफ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।