व्यापारिक युद्धमा चीनले अमेरिकालाई उछिन्यो

फाल्गुण ०५,२०७७

-

फागुन ५,२०७७ काठमाडौं ।
लामो समय एक अर्काबीच व्यापारिक युद्धमा होमिएका अमेरिका र चीनबीच अहिले पनि राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । यसबीच मै चीनले अमेरिकालाई व्यापारमा उछिनेको तथ्य प्रकाशमा आएको छ । सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ ।
 
 
कोरोना महामारीका कारण युरोपका मुख्य साझेदार मुलुकबीच व्यापार घट्यो तर चीनले भने यो ‘ट्रेन्ड’ रोक्न सफलता पायो । गत वर्ष चीन र युरोपेली संघबीच ७०९ अर्ब डलरको व्यापार रह्यो । जबकि अमेरिका र युरोपेली संघबीच ६७१ अर्ब डलरको व्यापार रह्यो ।
 
 
गत वर्ष पहिलो त्रैमासिकमा कोरोना कहरका कारण चीनको अर्थतन्त्र खराब रह्यो । तर वर्षको अन्तिमतिर आइपुग्दा चीनको आर्थिक स्थितिमा निकै सुधार आएर युरोपेली संघका सामानहरुको माग बढेको थियो । सन् २०२० मा चीनमात्र प्रमुख वैश्विक अर्थव्यवस्थामा एक यस्तो देश थियो जहाँ आर्थिक विकास देखिएको थियो । त्यसैले पनि चीनमा युरोपेली कार र लक्जरी सामानको माग बढेको थियो ।
 
यसबीच मेडिकल उपकरण र इलेक्ट्रोनिक्स सामानको ठुलो मागका कारण युरोपेली बजारमा चिनियाँ सामानको निर्यात बढ्यो ।  ‘युरोस्टेट’ का अनुसार सन् २०२० मा चीन युरोपेली संघको प्रमुख पार्टनर थियो । आयातमा ५।६ प्रतिशत र निर्यातमा २।२ प्रतिशत वृद्धिका कारण यस्तो नतिजा आएको थियो ।
 
 
युरोपेली संघको तथ्यांक जनवरीमा चीनले जारी गरेको आधिकारिक तथ्यांकसँग मिल्दोजुल्दो छ । चीनका अनुसार सन् २०२० मा युरोपेली संघको व्यापारमा ५.३ प्रतिशत वृद्धि भएको थियो । युरोस्टेटले सोमबार जारी गरेको तथ्यांकअनुसार चीनसँग युरोपेली संघको व्यापार घाटा पनि १९९ अर्ब डलरबाट बढेर २१९ अर्ब डलर भएको छ ।
 
तर अमेरिका र ब्रिटेन पनि युरोपेली संघमा निर्यातको ठुला बजारका रुपमा छन् । तर पछिल्लो तथ्यांकअनुसार यी दुवै देशसँग युरोपेली संघको व्यापारमा निकै कमी आएको छ । व्यापारमा प्रतिशोधको कारवाहीका शृङ्खला अन्तर्गत युरोपेली संघ र अमेरिकाबीच व्यापार घाटा बढेको हो ।
 
युरोस्टेटका अनुसार अमेरिकासँग युरोपेली संघको आयातमा १३.२ प्रतिशत र निर्यातमा ८.२ प्रतिशत कमी आएको छ ।