प्रदेशसभा भंग गरेर देखाउन शेरधन राईलाई आचार्यको चुनौती

फाल्गुण ०८,२०७७

-

फागुन ८, २०७७ काठमाडौं ।
नेकपाको प्रचण्ड-माधव समूहका एक नम्बर प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गरेर देखाउन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् । 
 
काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै आचार्यले यस्तो चुनौती दिएका हुन् । अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा दलको विवादको हवाला दिँदै सांसद्हरुलाई धम्क्याउने काम भइरहेको आरोप उनले लगाए । 
 
‘झन्डै दुुई महिना हुन लागिसक्यो अविश्वासको प्रस्ताव दर्ता भइसकेको, यति लामो समयसम्म संसद्को बैठक नहुने अनि अल्पमतको सरकार चल्ने हुन्छ? आचार्यले भने,‘ संसद्को बैठक बस्नुपर्छ, संसद्मा परीक्षण गरौं प्रतिगमनकारीहरुको पक्षमा बहुमत आयो भने सरकार टिक्छ, प्रतिगमन विरोधीहरुको पक्षमा बहुमत आयो भने ढल्छ ।’ 
 
मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा नेकपाको प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव दर्ता गराएको थियो । कानुनी रुपमा नेकपा विभाजन नभई जर्बजस्ती ल्याइएको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानु उचित नहुने धारणा मुख्यमन्त्री शेरधन राईले राख्दै आएका छन् । 
 
यसअघि राईविरुद्धको अविश्वास प्रस्तावलाई अघि बढ्न नदिनका लागि नेकपाको ओली पक्षका सांसद्हरुले संसद् अवरुद्ध गरेका थिए । त्यसको जवाफमा आचार्यले भने,‘आफ्नो फाइदाका लागि संविधान र पार्टी विधान च्यात्ने, अनि अहिले त्यही पार्टीको बहुमतले हटाएर कारबाही गरिसकेपछि दलीय प्रक्रियाको वकालत गरेर हुन्छरु हामी ४० जना सांसद्ले ८ जनालाई कारबाही गरेका हौं । अब ९३ सदस्यीय संसद्मा ३० जना पनि नभएको सरकार कुन नैतिकताले टिकिरहनसक्छ ? अविश्वास प्रस्ताव आइसकेपछि सामना गर्नुको साटो सरकार पक्षधरले नै संसद्मा अवरोध गर्ने पनि हुन्छ ?’