मौज्दात सकिने डरले साल्ट ट्रेडिङ खुद्रा चिनी बेच्दै

फाल्गुण ०९,२०७७

-

फागुन ९, २०७७ काठमाडौं ।
 
मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ ।
 
साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले भने । डिलरहरूले माग गरेअनुसार विक्री गर्ने हो भने यो मौज्दातले १ दिनलाई पनि नपुग्ने उनको भनाइ छ । यस्तो समस्या यस बर्षको मात्र नभएर वर्षौं देखिको समस्या भएको पनि उनले बताए ।
 
ठूला व्यापारी र निजी कम्पनीहरूले साल्टलाई स्वदेशी चिनी दिन नचाहने भएकाले पनि साल्टले क्रशिङको समयमा चिनीको अभाव भोग्नु परेको बताइएको छ । यति बेला उखु क्रशिङको समय हो । क्रशिङको सिजनमा पनि सरकारी कम्पीनसँग चिनी नहुनुले मूल्य वृद्धि गर्न र बजारमा चलखेल गर्न व्यापारीहरूलाई सजिलो भइरहेको सरोकारवालाहरूको भनाइ छ ।
 
साल्टले दशैंअघि नै ३० हजार मेट्रिक टन चिनी किन्न अनुमति माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, साल्टले हालसम्म पनि चिनी किन्ने अनुमति पाउन सकेको छैन । यसको प्रत्यक्ष लाभ व्यापारीहरूले उठाइरहेको साल्टको भनाइ छ ।
 
व्यापारीहरूले यति बेला प्रतिकिलो चिनीको खुद्रा मूल्य ८५ देखि ९० रुपैयाँसम्म लिने गरेका छन् । ‘खुद्रा मूल्य त प्रतिकिलो ८५ रुपैयाँ नै हो तर सानातिना व्यापारीहरूले ९० रुपैयाँ सम्मले पनि बेच्ने गरेका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उनका अनुसार अहिले क्रशिङको सिजन भएकाले मूल्य केही घट्नुपर्ने हो । मूल्य नघट्नुको कारण सरकारी कम्पनीसँग चिनी नहुनु पनि भएको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा  खबर छ ।