बारपाकमा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिए

फाल्गुण १०,२०७७

-

फाल्गुन १०, २०७७ काठमाडौं ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ मा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
 
सोमबार बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
 
स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको उनले बताए ।
 
स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी  पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए ।
 
मृत भेटिएकाहरुको मुखमा सेतो फिज पनि देखिएको जानकारी दिँदै एसपी गुरुङले भने,’ हामी थप अनुसन्धानमा छौँ ।’
 
शव जौबारीस्थित अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने बताइएको छ ।