बहस नोटको अध्यनपछि संसद् विघटनको फैसला सुनाउने तयारीमा अदालत

अदालतमा बहस लम्बिँदै जादा सडकमा पक्ष र विपक्षको प्रदर्शनले तीव्रता :

फाल्गुण ११,२०७७

-आस्था न्यूज

फागुन ११, २०७७ काठमाडौं ।
बहस सुनुवाइ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि हेर्दाहेर्दै मा राखेको छ। सोमबार सम्म दुवैपक्षलाई बहस नोट बुझाउने भनेको थियो। बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत छ। 
 
गत फागुन ७ गते एमिकस क्युरीबाट बहस गर्ने क्रम सकिएपछि यसलाई हेर्दाहेर्दै मा पेसी तोकिएको हो। अब जुनसुकै दिन पनि फैसाला आउने संभावना छ। ढिलोमा आगामी शुक्रबारसम्म फैसाला सुनाउने तयारी छ। 
 
पाँच जना एमिकस क्युरीमध्ये एकजना बाहेक चारजनाले प्रधानमन्त्रीको कदम संविधानविरोधी भएकाले विघटनको निर्णय बदर हुनुपर्ने सुझाव दिएका थिए। उनीहरूले पार्टी झगडाको सिकार सिंगो संसदलाई बनाउन नमिल्‍ने जिकिर गरेका थिए।
 
यतिबेला सिंगो मुलुकले अदालतको फैसला कुरिरहेको छ। पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले संसद विघटन गरे पछि मुलुकमा एक प्रकारको राजनीतिक भ्याकुमु छ। यसलाई अन्त्य गर्न अदालतको फैसला आवश्यक छ। 
 
अदालतमा बहस लम्बिँदै जादा बाहिर सडकमा पक्ष र विपक्षमा प्रदर्शनले तीव्रता पाउँदै गएकोले पनि अदालत छिटै फैसाला सुनाउने तयारीमा छ। अदालतले निर्णय सुनाएपछि अन्योलपूर्ण राजनीतिले एउटा लिक समाउने आसा गरिएको छ। 
 
यही माघ ४ देखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो । रिट निवेदकका तर्फबाट  बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो। १३ रिट निवेदकका तर्फबाट  ६८ जनाले बहस गरेका थिए। 
 
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। 
 
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।