अवहेलना मुद्दामा प्रचण्डले दिए अदालतमा लिखित जवाफ

कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव भएकोले अवहेलना नहुने प्रष्टीकरण:

फाल्गुण १६,२०७७

-आस्था न्यूज

फागुन १६,२०७७ काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव हुने भन्दै त्यसलाई व्यक्त गर्दा अदालतको अवहेलना नहुने जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।
 
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाएका हुन् ।
 
जवाफमा दाहालले मुद्दाका पक्षले सन्तोष-असन्तोष व्यक्त गर्नु वाक् तथा प्रकाशन स्वतन्त्रता रहेको उल्लेख गरेका छन् ।
 
माघ ९ गतेको आमसभामा आफूले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधानविरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको भन्दै उनले अदालतलाई धम्की दिएको भन्ने दाबी झूटो भएको जनाएका छन् । 
 
‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारेमा जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ, यसबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन,’ दाहालको जवाफ छ ।
 
दाहालले आफूविरुद्ध परेको निवेदन सरकारको नेतृत्वले प्रायोजित रूपमै तयार पारेको र उक्त दाबी औचित्यहीन रहेको जनाउँदै खारेज गर्न माग गरेका छन् ।