विकासको नाममा ‘प्रतिगमन’ रोक्न माग गर्दै काठमाडौं महानगरमा नागरिकको धर्ना

फाल्गुण १६,२०७७

-आस्था न्यूज

फागुन १६,२०७७ काठमाडौं ।
विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।
 
बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।
 
धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
 
बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरेका छन् ।
 
स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् ।
 
शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।