फागुन २३ गते संसद् अधिवेशन आह्‍वान

फाल्गुण १७,२०७७

-

फागुन १७,२०७७ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् ।मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । 
 
सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।
 
सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोहीबमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।