विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

फाल्गुण १८,२०७७

-आस्था न्यूज

फागुन १८,२०७७ काठमाडौं ।
सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । 
 
वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । 
 
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् ।
 
पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।
 
आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता हुन लागेको भन्दै यो खुसीको खबर भएको बताएका थिए । 
 
ओलीले विप्लवलाई सरकारले शान्ति प्रक्रियामा ल्याएको सारा नेपालीले टेलिभिजनबाट देख्ने समेत बताएका थिए । 
 
फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । 
 
सरकारले वार्ता टोली बनाएसँगै विप्लव समूहबाट पनि छिट्टै वार्ता टोलीको घोषणा हुने बुझिएको छ ।