चरीकोट-जिरी सडकखण्ड धमाधम कालोपत्रे हुँदै

फाल्गुण १८,२०७७

-रासस

फागुन १८,२०७७ काठमाडौं ।
लामोसाँघु-जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । 
 
लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । सडक निर्माण गर्न लामो समयसम्म कोरोनाले प्रभाव पारेको र उक्त प्रभावलाई मध्यनजर गरी सरकारले ६ महिनाको समयावधि थप गरेअनुसार तोकिएको समयमानै काम सम्पन्न गर्ने गरी काम भइरहेको लामा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक जिपछिरिङ शेर्पाले बताए ।
 
चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक २०१९ मार्चबाट साँढे दुई वर्षमा काम सक्ने गरी लामा कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माण कम्पनीले हालसम्म चरीकोटदेखि तामाकोशीसम्म १७ किलोमिटर र वैत्येश्वर गाउँपालिकाको नाम्दुको बुस्तीसम्मको साँढे दुई किलोमिटर कालोपत्र सम्पन्न गरिसकेको छ ।
 
तापक्रम मापन गर्दै विभिन्न ठाउँबाट धमाधम कालोपत्रको काम गरिरहेको कम्पनीले अहिले बुस्तीदेखि नाम्दु बजारसम्म कालोपत्रको काम र नाम्दुदेखि मैनापोखरीसम्म सबवेसको काम सकेर बेस हालिरहेको आयोजनाका प्रमुख इन्जिनीयर राजेन्द्र पौडेलले बताए । 
 
कोरोनाको कारण र वर्षातको समयमा राम्रोसँग काम गर्न नपाए पनि हिउँदमा तीव्र गतिमा काम भइरहेको कारण मैनापोखरीदेखि जिरीसम्म ८६ प्रतिशत संरचना निर्माणको काम सम्पन्न भइसकेको र यो फागुनभित्र नाम्दुसम्म कालोपत्र गरी ५० प्रतिशत कालोपत्रको काम सम्पन्न गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ठेक्का सम्र्झौता सकिन अझै एक वर्ष बाँकी छ ।