ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने पौडेलको भनाई

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
 
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।
 
बिहीबार बिहान नारायणगढ क्षेत्रपुरमा नेपाल प्रेस युनियन चितवन शाखालले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले केपी ओलीले देशलाई, व्यवस्थालाई र संविधानलाई जोखिममा पारेकाले सहयोग गर्न नसकिने बताएका हुन् । 
 
नेता पौडेलले दाहाल–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिने बताए । ‘यसमा बरु पोजेटिभ हुन र छलफल गर्न सकिन्छ,’ पौडेलको भनाइ थियो । नेता पौडेलले कांग्रेस सरकारमा किन जाने, के गर्न जाने र के हैसियतमा जाने भन्ने बारेमा पार्टीभित्र छलफल भएर निर्णयमा पुग्नुपर्ने बताए । उनले यो बेला कांग्रेस अरुको खेलौना बन्नबाट जोगिनु पर्ने धारणा राखे ।
 
‘अहिले नाजुक र संकटपूर्ण स्थिति छ । यसबाट पार लगाउन कांग्रेसबाहेक अरुले भूमिका खेल्ने हैसियत छैन । कांग्रेसले अरुलाई सहयोग गरेर पनि पार लगाउन सक्छ । कांग्रेसले आफू मात्र हुनु पर्दछ भनेर सोच्यो भने पनि कांग्रेस फेरि भूमिकाविहीन हुन सक्ने नेता पौडेलको भनाई थियो ।
 
 उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्‍याए कांग्रेसको भूमिका अझै महत्वपूर्ण हुने बताए ।