सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको छः प्रधानमन्त्री

फाल्गुण २१,२०७७

-

फागुन २१,२०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको बताएका छन् ।
 
झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका छन् ।
 
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सरकारले देशमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको बताए । 
 
उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन सृष्टि भएको उल्लेख गरेका छन् ।
 
उनले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सवल बनाउन यो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो।’
 
उनले भने, ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।’
 
आजभन्दा ४८ वर्षअघि आजकै दिन त्यस आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर पञ्चायती सत्ताले हत्या गरेको थियो ।