किसान सूचीकरण राष्ट्रिय अभियान सुरुः आत्मनिर्भरमा सहयोग पुर्‍याउँने प्रधानमन्त्रीको विश्वास

फाल्गुण २२,२०७७

-आस्था न्यूज

फागुन २२,२०७७ काडमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।
 
किसान सूचीकरण आत्मनिर्भरका लागि पहिलो खुड्किला रहेको बताउँदै उनले नेपाल अल्पविकसित देशबाट विकसित देशको रुपमा अगाडि बढेको समेत बताए ।
 
किसान सूचीकरण राष्ट्रिय अभियानलाई शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले एक वर्ष कोरोनाका कारण देशको विकासमा असर पुगेपनि कृषिमा त्यति असर नगरेको बताए । 
 
यो सूचीकरणले किसानको अवस्थाको बारेमा स्पष्ट पार्ने उनले बताए । किसान पहिचान भइसकेपछि उनीहरुलाई केके चाहिन्छ त्यो सबै सरकारले पुरा गर्ने बताउदै उनले किसानलाई प्रविधिसँग जोड्नु पर्ने कुरामा जोड दिए । प्रत्येक पालिकामा किसानको लागि तालिमको व्यवस्था गर्नु पर्ने भन्दै उनले त्यसबाट पनि पुगेन भने घुम्ती तालिमको व्यवस्था गर्नु पर्ने बताए ।
 
अनुदानको दुरुपयोग धेरै हुने भएकाले सहकारीमार्फत अनुदानको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानले फिर्ता गर्नु पर्ने गरि अनुदान दिनुपर्ने बताए ।
 
निरोगी नेपाल हुनका लागि निरोगी खाना हुनु पर्ने भन्दै उनले भान्सा घरबाट नै शुद्धतामा ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए । 
 
पर्यटकीय विकासका लागि पनि कृषिको विकास हुनु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसमा विभिन्न डेभलपमेन्ट पार्टनरको सहयोग रहेको बताए ।
 
कृषिलाई मर्यादित बनाउन सरकारले काम गरिरहेको र यसमा सबैको सहयोग चाहिने पनि उनले बताए ।