विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल हुनुभोः प्रचण्ड

फाल्गुण २२,२०७७

-आस्था न्यूज

फागुन २२, २०७७ काडमाडौं ।
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् । 
 
शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु।’
 
यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुनुहुने छ भनेको थिएँ ।’
 
विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’ 
 
शुक्रबारमात्रै विप्लव सरकारसँग ३ बुँदे सहमति भएपनि शान्तिपूर्ण राजनीतिमा सामेल भएका थिए ।