चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण

चैत्र १२,२०७७

-आस्था न्यूज

चैत १२,२०७७ काठमाडौं ।
भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । 
 
राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् ।
 
‘धनकुमारीको कलेजो काम गर्न नसक्ने गरी बिग्रिएको थियो । त्यसैले प्रत्यारोपणको विकल्प थिएन,’ सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने । 
 
पुरानो ठेगाना भरतपुर भए पनि धनकुमारीको परिवार लामो समयदेखि काठमाडौंमा बस्दै आएको थियो । पाँच महिनाअघि समस्या देखिएपछि अस्पताल लैजाँदा कलेजो नराम्ररी बिग्रेको पत्ता लागेको धनकुमारीका श्रीमान् रनबहादुर तमाङले बताए ।
 
‘त्यसपछि कलेजो नै प्रत्यारोपण गर्नुपर्छ भनेपछि के गर्ने कसो गर्ने भन्ने भयो । विदेश लैजान सक्ने अवस्था थिएन । काठमाडौंमै गर्ने कि भन्ने विचार भइरहेका बेलामा भरतपुरमै सेवा पाइन्छ भनेपछि यतै आएको हो,’ रनबहादुरले भने । कलेजो दिने दाता खोजी गर्दा छोरी नै अग्रसर भएको उनले बताए । 
 
प्रत्यारोपणपछि आमाछोरी दुवैको अवस्था सामान्य हुँदै गएको हुँदा खुसी लागेको रनबहादुरले सुनाए । नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो ।
 
‘उपत्यकाका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रपछि तेस्रो अस्पताल सिएमसीमा कलेजो प्रत्यारोपण भएको छ । सिएमसीले ७६ सालको वैशाखमा कलेजो प्रत्यारोपणका लागि स्वीकृति लिएको निर्देशक  न्यौंपानेले बताए ।
 
कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने उनले बताए । कान्तिपुरबाट