वायु प्रदूषण निकै बढेकाले सतर्कता अपनाउन डाक्टरको सुझाव

चैत्र १५,२०७७

-आस्था न्यूज

चैत १५,२०७७ काठमाडौं । 
काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले बताएका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् ।
 
वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । 
 
प्रदूषण बढेको बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टरहरूको सुझाव छ । बाहिर निस्कनै पर्ने भएमा उच्च गुणस्तरको मास्क र आँखामा चस्मा वा सन–ग्लास लगाउन डाक्टर ढकालको सुझाव छ । प्रदूषण बढेका बेलामा कन्ट्याक्ट लेन्सले आँखा थप सुख्खा बनाउने र घाउ बनाउने भएकोले कन्ट्याक्ट लेन्स प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।
 
सबैभन्दा बढी प्रदूषण बिहान पाँच बजेदेखि आठ बजेसम्म हुने भएकाले त्यसबेला सकेसम्म घरबाहिर नै ननिस्कन विज्ञहरूको सुझाव छ । यही शुक्रवारदेखि काठमाण्डौ उपत्यकालगायतका ठाउँको आकाशमा देखिएको बाक्लो तुवाँलो अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
धेरैजसो जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले बढेको प्रदूषण अझै दुईरतीन दिन रहने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । प्रदूषित वायुमण्डल सफा हुनका लागि कि वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ तर अहिले त्यो भएको छैन ।   
 
गएको शुक्रवार काठमाण्डौ उपत्यकाभित्र र बाहिर दुवैतर्फको फोहर काठमाण्डौ भित्रिएकाले प्रदूषण बढेको हो । अहिलेको समयमा बिहान सूर्यको प्रकाश सतहमा पर्छ । जसका कारण जमिन तात्छ अनि तातो हावा माथि जान्छ । वरिपरि तातो हावा बहन्छ अनि यहाँको प्रदूषण बाहिरिन्छ ।
 
गएको शुक्रवार जमिनमा तातेको हावा माथि जान नपाएकाले वायुमण्डलको तल्लो तहमै सीमित रह्यो । काठमाण्डौ वरिपरिका जिल्लामा डढेलो पनि लागेकाले हावाले धुवाँ पनि भित्र ल्याइदियो । कचौरा आकारको उपत्यकाको प्रदूषण बाहिर जान नपाएकाले मौसम धुम्मिँदा प्रदूषण बढेको हो ।