पाँच वर्ष नपुग्दै कम्युनिष्ट सरकार तितरवितर, कांग्रेसलाई मौंका

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा उनले राजीनामा माग्दैमा आफूले नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।
 
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताए । ‘आज मागेको हो र राजीनामा ? माग्यामाग्यै छ त, मागेपिच्छे म कसरी दिन सक्छु? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्यामाग्यै छ,’ उनले भने, ‘ए बाबा हटाऊ न त, समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छन् । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’
 
ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । उसले ओलीलाई हटाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो ।
 
ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको तर सरकारले गरेका विकास–निर्माणका कामलाई अगाडि नराखेको भनेर सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानीजस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै आलोचना गरेका हुन् । ‘दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन्,’ उनको असन्तुष्टि थियो ।
 
असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दलहरूले सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री ओली भने सर्वोच्चको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भनेर फैसला आउँदा पनि उक्त कदम सही थियो भनेर जिकिर गरिरहेका छन् । उनले संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताएका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।