कांग्रेस नेता रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच भेटवार्ता, सरकार गठनबारे छलफल

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।
 
शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।
 
प्रधानमन्त्री ओलीसँग संवादमा रहेका ठाकुरलाई ओली मोर्चामा सामेल नगराउने उद्देश्यले पौडेल हात्तीवनमा पुगेको बुझिएको छ । शनिबार पौडेलले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लगेर ह​हटाउने बताएका थिए । तर भेटमा ठाकुरले काँग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएको बुझिएको छ।
 
‘गठबन्धनको सरकार बनाउने भन्ने अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुनपर्ने होइन र?’ पौडेललाई ठाकुरको प्रश्न थियो । काँग्रेसको निर्णयले प्रधानमन्त्री ओलीलाई नै फाइदा हुने उनको भनाइ थियो ।
 
स्रोतका अनुसार पौडेलले काँग्रेसले प्रधानमन्त्रीका लागि कसैको नाम अगाडि नसारिएकोले छलफल गर्ने सकिने बताएका थिए । उनले काँग्रेसबाट पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा विकल्पमा अर्को उम्मेदवार अगाडि सार्नसक्ने संकेत देखाएका थिए । 
 
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरलाई भेट्ने प्रयास गरिरहेका छन् ।