तेस्रो आइएमई टेनिस प्रतियोगिताको उपाधि अकि र सर्भानीलाई

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु-१६ तर्फको उपाधि जितेका छन् । 
 
मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु-१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । 
 
पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३-६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६-४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । 
 
यस्तै गल्र्स यु-१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २-० को सोझे जित निकालिन । सर्भानीले दुबै सेट ७-५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो । 
 
दुबै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे ।
 
 सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।